पाटनले उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।
आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध दिएको मुद्दामा न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले सोमबार यस्तो फैसला गरेको हो।
यसअघि उनीहरू उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै मेडिकल काउन्सिल गएका थिए। काउन्सिलले भने अस्पताल र डाक्टरहरूलाई स्पष्टीकरणमात्र सोध्ने निर्णय गरेको थियो। काउन्सिलको उक्त निर्णयविरूद्ध उनीहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका हुन्। अस्पतालले लापरबाही गरेकाले पीडितलाई क्षतिपूर्ति दिलाउनु पर्ने उनीहरूको माग थियो।
न्यौपाने र घिमिरेकी वकिल दीक्षा कँडेलका अनुसार अदालतले सजायसम्बन्धी काउन्सिलको निर्णयलाई सदर गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको हो।
‘प्रतिवादीहरूले लापरबाही भएको प्रमाणित भइसकेपछि पनि पीडितलाई क्षतिपूर्ति नभराउने गरी काउन्सिलबाट भएको निर्णय मिलेको नदेखिएको भन्दै पीडितलाई क्षतिपूर्तिबापत् ३५ लाख रुपैयाँ भराउने फैसला भएको छ,’ कँडेलले भनिन्।
२०७५ असार १२ गते ग्रान्डी अस्पतालमा एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो। बच्चा जन्मेको आधा घन्टामै नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखियो। पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला' ब्याक्टेरियाको संक्रमण भयो। बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो। झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले अर्को वर्ष वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो छोरा रिहान निको हुन नसक्ने थाहा पाएका थिए।
Comments